कीवर्डहरू -

विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी 

विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी 

नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूकाबिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने कोडएभोरको क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ग्लोबल रोबोटिक्स, कोडिङ र एआई च्यापियनको रूपमा परिचित प्रतियोगिता ‘कोडएभोर ५.० रिजनल’ शुक्रबार घोषणा गरिएको हो । यस्तो खालको कार्यक्रम नेपालमै पहिलो पटक निमा एकेडेमीले गर्दैछ ।

निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने कोडएभोर कोसेढुङ्गा सावित हुने बताए ।

स्टिमपिडियासँगको साझेदारीमा गर्न लागरिएको यस कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यअनुरूप युवा विद्यार्थीहरूको सशक्तीकरणमा केन्द्रित हुनेछ ।  नेपालभरका १०० बढी विद्यालयका करिब २ हजार विद्यार्थीहरूले भाग लिने अपेक्षा गरिएको छ ।

यसका लागि शुक्रबारबाटै दर्ता खुला गरिएको छ । प्राप्त आवेदन मध्येबाट छनौट भएका सहभागीहरूले २०२४ को प्रारम्भमा क्षेत्रीय प्रतिस्पर्धामा नेतृत्व गर्दै उद्योगका विशेषज्ञहरूमार्फत परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् ।

शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५ हजार बराबरको रकम वितरण गरिने छ । यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको लागि उनीहरूको सिप अभिवृद्धि गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) मा आफ्नो क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

यस कार्यक्रमअन्तर्गत आगामी नोभेम्बरसम्म आवेदन दिन सकिने छ भने डिसेम्बरमा तालिम सञ्चालन हुनेछ । त्यसपछि सन् २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनालेका लागि विश्वव्यापी रूपमा शीर्ष १० परियोजनाहरू छनौट गरिने छ ।