मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गरेको छ । यस ह्याकाथनमा सूचना तथा प्रविधिको प्रयोग गरी आदीवासी तथा स्वदेशीय भाषालाई जोगाउने तथा प्रवर्द्धन गर्नेलाई प्रमुख विषयवस्तु बनाइएको थियो ।
यस कार्यक्रमको उद्देश्य नेपाली आदिवासी भाषाहरूको संरक्षण र सम्वर्द्धनका लागि प्रोग्रामिङ उपकरण विकास गर्न प्रोग्रामरहरूको ठूलो समूहलाई संलग्न गराउनु थियो । कार्यक्रमलाई युनेस्को र प्रभु बैंकले सहयोग गरेका थिए ।
कार्यक्रममा ४८ भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय टोली गरी ४५० जना सहभागीले सहभागिताका लागि आवेदन दिएका थिए । तीमध्ये छनोट समितिले विभिन्न शहरबाट जम्मा १३ टोली (४८ सहभागी) अन्तिम चरणमा सहभागी भएका थिए ।
६ देखि ८ अक्टोबर २०२३ सम्म कलेज परिसरमा सबै टोलीहरूले आफ्ना सफ्टवेयर उत्पादनहरूलाई अन्तिम रूप दिनका लागि कोडिङ गरेका थिए । तमु बौद्ध सेवा समिति हल, अनामनगरमा रहेको प्रडक्ट डिस्प्लेमा सबै टोलीले आफ्नो उत्पादन मूल्याङ्कन र पुरस्कारका लागि निर्णायक समिति समक्ष प्रस्तुत गरेका थिए ।
मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेलले कार्यक्रममा स्वगत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष तथा पूर्व चीनका लागि राजदूत महेन्द्र पान्डेले ह्याकाथनको महत्व दर्साउँदै सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । हरेक भाषाले बेग्लै संस्कृति झल्काउने हुँदा सबैको आफ्नै महत्व रहेको समेत पान्डेले जनाएका थिए ।
यस ह्याकाथनमा पूल्चोक क्याम्पसको टिक जेनन : जेनो लिंगो ग्रुपले पहिलो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ हासिल गरेको थियो । यसैगरी मेची बहुमुखी क्याम्पसको टिम लिपीले दोस्रो स्थान र १५ हजार नगद पुरस्कार हासिल गर्न सफल भएको थियो ।
तेस्रो स्थानमा पूल्चोक क्याम्पसै्र टिम द मिसफिट्स : न्याटिभ ट्युन्स रहेको थियो र १० हजार रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी चोथो स्थानमा टिम किन कोडर्स आएको थियो । आयोजकले विजयी टिम सहित सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले एमबिएम आइडियाएक्स २०२३ आदिवासी भाषाको प्रवद्र्धनका लागि नेपालको प्रविधि र स्थानीय भाषालाई जोड्ने एउटा मञ्च भएको बताए ।