काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा उजुरी दर्ता गरेको छ ।
मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले गरेकाे उजुरीमा कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्याएको भन्दै कारवाही गर्न माग गरिएको छ ।
उजुरीमा सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनु आवश्यक रहेको उल्लेख गरिएकाे छ ।
प्रस्तावित विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन सेवा प्रदायकहरुले आन्दोलनमा उत्रदै हिजाे ३ बजेदेखि २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् ।