काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक डाटा सेन्टर समिट आयोजना हुँदै छ ।
सोल्टी क्राउन प्लाजामा हुने समिट १२ बजेदेखि सुरू हुने छ । समिटकाे प्रमुख अतिथिकाे रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटा रहने छन् ।
डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् ।
पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छन ।
यो समिटको मुख्य उद्धेश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ ।
समिटमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाउने छन् भने हस्पिटालिटी, बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गर्ने छन् ।