काठमाडौं । छोटो समयमा ८ लाखभन्दा बढी प्रयोगकर्ताले मन पराएको नेपालको डिजिटल वालेट खल्तीले अन्तर्राष्ट्रियस्तरको इन्नोभेसन फन्ड जित्न सफल भएको छ ।
संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) एसिया प्रशान्त क्षेत्रका लागि आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड नेपालको खल्तीले जित्न सफल भएको हो ।
खल्तीसँगै एसिया प्रशान्त क्षेत्रका १० उद्यमहरूले उक्त इन्नोभेसन फन्ड जितेका छन् ।
अधिकतम ५० हजार डलर राशी रहेको इन्नोभेसन फन्डबाट आधा हुन आउने रकम खल्तीले थप गरी महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरूलाई व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम बनाउने छ ।
खल्तीका संस्थापक अमित अग्रवालका अनुसार यो कार्यक्रममा कार्यान्वयन गर्न खल्तीले ३५०० महिला आवद्ध भएको सार्क बिजनेश एसोसिएसन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने छ । सबह नेपालले गृहिणीहरूको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ।
परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रूपमा खल्तीलाई प्राविधिक सहयोग पनि गर्ने छन् ।
यो कार्यक्रममा पूर्वमा संखुवासभादेखि पश्चिममा दार्चुलासम्मका १२ वटा जिल्लाहरूमा ३५०० भन्दा बढी महिला उद्यमीहरूलाई सहयोग गरिने अग्रवालले जानकारी दिए ।
यसमा स्मार्ट छोरीहरूलाई पनि उद्यमीहरूलाई सहयोग गर्न परिचालन गरिने बताइएको छ ।