कीवर्डहरू -

नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता

नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर्स प्रालिबीच सूचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकताअनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् ।

सम्झौतासँगै नामीका विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा विश्वबजारमा भइरहेका नयाँ नयाँ अविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधिको उत्कृष्ट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधिले विश्वास लिएका छन् ।

शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुई संस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ठ व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए ।

उनका अनुसार विश्वबजारमा सूचना प्रविधिको विषयमा भइरहेको वास्तविक अभ्यासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । यो सहकार्यसँगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पग्नेछ ।

साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने बित्तिकै रोजगारीमा जान पनि सघाउनेछ ।

सम्झौतापछि दुवै संस्थाले उद्यमशील बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।

नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

इन्फोडेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील अग्रणी संस्था हो । सूचना प्रविधीसँग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियाशील छ ।