कीवर्डहरू -

एभरेस्ट ह्याकथन सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक

एभरेस्ट ह्याकथन सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक

काठमाडौं। एभरेस्ट ह्याकथन टोलीले श्रावण १ का दिन ‘एभरेष्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ्ग कार्यक्रम सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको छ।

उक्त कार्यक्रम मिति २०७६ /०४/ ०५ देखि राजाधानी काठमाडौंको जोरपाटीमा रहेको नामी कलेज हातामा दिउसो १ बजेदेखि साँझ ५ बजे सम्म सन्चालन हुनेछ।

एभरेस्ट ह्याक ४८ घण्टे कार्यक्रम हो जसमा विध्यार्थी, डिजाइनर, उद्यमी, ह्याकर सबै साना समूहमा टोलीबद्ध भइ प्रस्तुत गरिएका चुनौतीहरूको सिर्जनात्मक र रोचक समाधानहरूको विकास गर्न र विचार आदान प्रदान गर्नेछन।

त्यति मात्र होइन, प्रविधिका माध्यमले हाम्रो समाजमा विध्यमान समस्याहरुको हल निकाल्न पनि कार्यक्रम कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ, कार्यक्रमका प्रोजेक्ट संयोजक ललित सिंह भन्छन्।

यस कार्यक्रमको अतिरिक्त उद्देश्य नेपालमा ह्याकिङ्ग संस्कृतिको प्रोत्साहन र विस्तार गर्नु रहेको छ। कार्यक्रमका दौरान प्रतियोगीहरुले २४ घण्टे समय सिमामा विकसित गरेका समाधानहरुलाई आगन्तुकहरुको सार्वजनिक अवलोकनका लागि एक्स्पोमा राखिनेछ।

“एक्स्पोले आगन्तुकहरुलाई आफ्ना मनमा लागेका विचार अन्तरक्रिया कार्यक्रममा राख्न तथा विभिन्न उद्योग र कम्पनीका बिच साझेदारीको अवस्था सिर्जना गर्न र सञ्जाल विस्तारका लागि सेतुको भूमिका निर्वाह गर्नेछ,” सिंह थप्छन्।


कार्यक्रम आयोजकका अनुसार ह्याकिङ्ग एक्स्पोमा पाल्नुहुने आगन्तुकहरुमा सर्वसाधारण नागरिकहरुदेखि प्रतिष्ठित व्यापार क्षेत्रका सम्भावित रोजगारदाता र लगानीकर्ता रहनेछन्।

एक्स्पोका दौरान अवलोकनकर्ता महानुभावहरुले प्रतियोगीहरुलाई उनीहरुले सिर्जना गरेका समाधानहरुको उपादेयता र दिगोपनका बारेमा जानकारी लिन सक्नेछन् ।

कार्यक्रम अवलोकन गर्नुहुने महानुभावहरुले साझा गर्ने प्रतिक्रियाहरुका आधारमा विजेता हुनेहरुको मुल्याङ्कन गरिनेछ।विभिन्न आधार तत्वहरु जस्तै नवीनता, डिजाईनको गुणस्तरीयता , WOW कारक र प्रस्तुतीकरण आदिका मुल्याङ्कन आधारमा १० उत्कृष्ट टोलीहरुको चयन गरिनेछ।

ति चुनिएका टोलीहरुलाई सम्भावित लगानीकर्ताहरुको ध्यान खिच्न र आफ्नो समाधान वा विचारहरु पिच गर्ने अवसर प्रदान गरिनेछ।

पहिलो हुने टोलीलाई नगद रु ५०,००० र फिनल्यान्डको हेल्सिन्कीमा आयोजना गरिने  युरोपकै सर्वाधिक ठुलो ह्याकिङ्ग स्पर्धा 'जंक्सन' मा प्रत्यक्ष सहभागिताको अवसर दिइनेछ।

त्यस्तै, दोस्रो हुने टोलिले नगद रु २५, ००० र तेस्रो हुने टोलिले नगद रु १५, ००० प्राप्त गर्नेछन्। प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल हुने टोलीहरुलाई अन्य ह्याकिङ्ग सम्बन्धी कार्यक्रमका लागि प्रत्यक्ष सहभागिताको अवसर प्रदान गरिनेछ।

त्यस्तै, अन्य थप पुरस्कारहरु जस्तै उत्कृष्ट प्रविधि, नौलो प्रोजेक्ट आदि दिएर प्रतियोगीहरुलाई प्रोत्साहन गरिनेछ।
अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त टेक कम्पनीहरु जस्तै माइक्रोसफ्ट, गीट हब ( GitHub), क्लाउड फ्लेयर ( CloudFlare) आदिहरुले यस कार्यक्रमलाई साथ दिएका छन्।

कार्यक्रम अवलोकन गर्नका लागि सर्वसाधारण दर्शकहरु प्रवेश शुल्क वापत रु १०० तिर्नुपर्ने छ भने विद्यार्थीहरुका लागि सहुलियत स्वरुप रु ५० प्रवेश शुल्क लाग्नेछ।