एभरेस्ट ह्याकथन टोलीले ‘ एभरेष्ट ह्याक ’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ कार्यक्रम सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको छ । उक्त कार्यक्रम साउन ५ देखि राजाधानी काठमाडौंको जोरपाटीमा रहेको नामी कलेज हातामा दिउसो १ बजेदेखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ।
' एभरेस्ट ह्याक' ४८ घण्टे कार्यक्रम हो जसमा विध्यार्थी , डिजाइनर , उद्यमी , ह्याकरलगायतले साना समूहमा विभाजन भइ प्रस्तुत गरिएका चुनौतीहरूको सिर्जनात्मक र रोचक समाधानहरूको विकास गर्न र विचार आदान -प्रदान गर्नेछन। त्यति मात्र होइन , प्रविधिका माध्यमले हाम्रो समाजमा विद्यमान समस्याहरुको हल निकाल्न पनि कार्यक्रम कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ," कार्यक्रमका प्रोजेक्ट संयोजक ललित सिंह भन्छन्। यस कार्यक्रमको अतिरिक्त उद्देश्य नेपालमा ह्याकिङ्ग संस्कृतिको प्रोत्साहन र विस्तार गर्नु रहेको छ।
कार्यक्रमका दौरान प्रतियोगीहरुले २४ घण्टे समय सिमामा विकसित गरेका समाधानहरुलाई आगन्तुकहरुको सार्वजनिक अवलोकनका लागि एक्स्पोमा राखिनेछ। “ एक्स्पोले आगन्तुकहरुलाई आफ्ना मनमा लागेका विचार अन्तरक्रिया कार्यक्रममा राख्न तथा विभिन्न उद्योग र कम्पनीका बिच साझेदारीको अवस्था सिर्जना गर्न र सञ्जाल विस्तारका लागि सेतुको भूमिका निर्वाह गर्नेछ ,” सिंह थप्छन्।
कार्यक्रम आयोजकका अनुसार ह्याकिङ एक्स्पोमा पाल्नु हुने आगन्तुकहरुमा सर्वसाधारण नागरिकहरुदेखि प्रतिष्ठित व्यापार क्षेत्रका सम्भावित रोजगारदाता र लगानीकर्ता रहनेछन्। एक्स्पोका दौरान अवलोकनकर्ता महानुभावहरुले प्रतियोगीहरुलाई उनीहरुले सिर्जना गरेका समाधानहरुको उपादेयता र दिगोपनका बारेमा जानकारी लिन सक्नेछन् । कार्यक्रम अवलोकन गर्नुहुने महानुभावहरुले साझा गर्ने प्रतिक्रियाहरुका आधारमा विजेता हुनेहरुको मुल्याङ्कन गरिनेछ। विभिन्न आधार तत्वहरु जस्तै नवीनता , डिजाईनको गुणस्तरीयता , कारक र प्रस्तुतीकरण आदिका मूल्याङ्कन आधारमा १० उत्कृष्ट टोलीहरुको चयन गरिने छ। ती चुनिएका टोलीहरुलाई सम्भावित लगानीकर्ताहरुको ध्यान खिच्न र आफ्नो समाधान वा विचारहरु पिच गर्ने अवसर प्रदान गरिने छ।
पहिलो हुने टोलीलाई नगद रु . ५० , ००० र फिनल्यान्डको हेल्सिन्कीमा आयोजना गरिने युरोपकै सर्वाधिक ठूलो ह्याकिङ स्पर्धा ' जंक्शन ' मा प्रत्यक्ष सहभागिताको अवसर दिइनेछ। त्यस्तै , दोस्रो हुने टोलिले नगद रु . २५ , ००० र तेस्रो हुने टोलिले नगद रु . १५ , ००० प्राप्त गर्नेछन्। प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल हुने टोलीहरुलाई अन्य ह्याकिङ्ग सम्बन्धी कार्यक्रमका लागि प्रत्यक्ष सहभागिताको अवसर प्रदान गरिनेछ। त्यस्तै , अन्य थप पुरस्कारहरु जस्तै उत्कृष्ट प्रविधि , नौलो प्रोजेक्ट आदि दिएर प्रतियोगीहरुलाई प्रोत्साहन गरिनेछ।
अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त टेक कम्पनीहरु जस्तै माइक्रोसफ्ट , गीट -हब ( GitHub ) , क्लाउड फ्लेयर (CloudFlare) आदिहरुले यस कार्यक्रमलाई साथ दिएका छन्। कार्यक्रम अवलोकन गर्नका लागि सर्वसाधारण दर्शकहरु प्रवेश शुल्क वापत रु .१०० तिर्नुपर्ने छ भने विद्यार्थीहरुका लागि सहुलियत स्वरुप रु .५० प्रवेश शुल्क लाग्नेछ।