राइजिङ स्टुडेन्ट अवार्ड पहिलो पटक आइसिटी अवार्डमा समावेश गरिएको विधा हो । आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएको प्राेजेक्टका आधारमा यो अवार्ड प्रदान गरिने छ । यस वर्ष ‘डिजिटल नेपालʼको थिममा रहेर विद्यार्थीले प्रोजेक्ट विकास गरी नोमिनेसन दर्ता गराएका थिए । यो विधाको उत्कृष्ट ११ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका थिए । यसबाट हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान र वाटर टेस्टर एप उत्कृष्ट ५ मा पर्न सफल भएका छन् :
हेल्प इआर
नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी (एनसिआइटी) का दिनेश अर्याल र अनिल गुरौले बनाएको प्रोजेक्ट हो, हेल्प इआर । यो एपले आइटी तथा इन्जिनियरिङका विद्यार्थीले भोग्नुपरेको विभिन्न समस्यालाई एपमार्फत् समाधान गर्ने प्रयास गरेको छ । हेल्प इआरले विभिन्न विषयका नोट र सोलुसन्स प्रदान गर्दछ । पुराना प्रश्नहरुको उत्तर एपमै उपलब्ध छ । यतिमात्रै होइन विश्वविद्यालयका नोटिसहरु पनि एपबाटै दिन्छ भने शहरमा हुने आइटी र इन्जिनियरिङ सम्बन्धी इभेन्टको सूचना पनि दिन्छ । विद्यार्थीहरुले एपको प्रयोग गरी कम्पनीहरुमा इन्टर्नसिप एप्लाई पनि गर्न सक्छन् र करियर खोजी गर्न सक्छन् । यो एपले विद्यार्थीहरुलाई एपबाटै धेरै सजिलो बनाएको छ । कलेजको पढाइको समयमा मात्रै होइन, कलेजपछि जब खोज्न पनि यो एपले सहयोग गर्छ । अहिले हेल्प इआरले काठमाडौंको २ ओटा कम्पनीहरुसँग सहकार्य गरेर विद्यार्थीलाई विभिन्न अफर दिइरहेको छ ।
नयाँ किनमेल
मोरङ सुकुना उच्च माविका समिर फुयालले बनाएको प्रोजेक्ट हो, नयाँ किनमेल । यो अनलाइन एडभर्टाइजिङ प्लाटफर्म हो जुन नयाँ किनमेल डटकममा उपलब्ध रहेको छ । यसले परम्परागत पत्रिका विज्ञापनलाई डिजिटाइज गर्ने उद्धेश्य राखेको छ । यसले क्रेता र बिक्रेतालदाई जोड्दै ब्यापारको नयाँ अवसर प्रदान गरेको छ । यो प्लाटफर्ममा जोसुकैले पनि आफ्नो घर, जग्गा, सवारीसाधन, सजावटसम्बन्धी सामान, किताब, डिभाइस र अन्य सामान निःशुल्क पोस्ट गर्न सक्छन् । यो साइटले सम्भावित खरिदकर्तालाई बिक्रेतासँग जोडी दुवैलाई ब्यापार व्यावसायको अवसर जुटाउँछ । यसले महँगो पैसा तिरेर पत्रिका, टिभीहरुमा दिनुपर्ने विज्ञापनको बाध्यतालाई कम गर्ने प्रयास गरेको छ । यसमा साना आइटमहरु जस्तै गितार, फर्निचर, मोबाइल जस्ता कुरा पनि राख्न सकिन्छ ।
रक्तदान
पुल्चोक क्याम्पसका एलेक्स भट्टराई, अनिश दुलाल, मितेश पाण्डे, निशेष वालेले बनाएको प्रोजेक्ट हो, रक्तदान । यो क्रस प्लाटफर्म एप्लिकेशन हो जसले रक्तदानसम्बन्धी विद्यमान समस्याको छिटो र छरितो हिसाबले समाधान गर्ने उद्धेश्य राखेको छ । समाजमा हुने रक्तदान अभियानहरुलाई यो एपले हल गर्न खोजेको छ । सोसल मिडियामा अहिले रक्तदानसम्बन्धी विभिन्न ग्रुप र पेज छन् । तर, त्यहाँ सूचनाको गोपनियता देखि रगत दिने र लिनेको सञ्चार हुन धेरै गार्हो छ । यो प्लाटफर्ममा रियल टाइम लोकेशन डाटाबेस अपडेट गरिएको हुनाले कुन मानिस (रक्तदाता) कहाँ छ भनेर रेडियस बेस्ड सर्च गर्न सकिन्छ । ब्लड ग्रुपको नाम सर्च गरिसकेपछि आफ्नो वरिपरी को को इच्छुक रक्तदाता रहेका छन् त्यो जानकारी यो एपले दिन्छ । रक्तदान गरेका व्यक्तिहरुले रेस्पेक्ट प्वइन्ट पाउँछन् भने प्राथमिकताको आधारमा हेल्थ सर्भिसका लागि कुपन पाउँछन् । यो एपले रक्तदाताको सम्पर्क नम्बर र सूचना दूरुपयोग हुन दिदैन भने चाँडो रक्तदान र रक्त संकलन गर्न सहयोग गर्छ ।
प्रशासन ई
कलेज अफ एप्लाइड साइन्सका रबिन बिक, गगन पुरी, विक्रम भुर्तेल र अनिल पुरीले बनाएको प्रोजेक्ट हो, प्रशासन ई । यो एपले सरकारका विभिन्न विभागहरुबीच आन्तरिक सञ्चार र समन्वय गराई सार्वजनिक सरोकारका काम छिटो छरितो गराउन सहयोग गदर्छ । कतिपय अवस्थामा सरकारी निकायहरुबीच नै समन्वय नहुँदा सरकारी योजना र प्रोजेक्टहरु सफल नभएको सन्दर्भमा यो प्रोजेक्टले सरकारी निकायहरुबीच समन्वय गराउने र मोबाइल एपमार्फत् नागरिकलाई विकास सम्बन्धी सरकारका उद्धेश्य र योजनाबारे जानकारी दिन्छ । नागरिकले मोबाइल एप प्रयोग गरी सरकारी कार्यालयलाई सल्लाह, सुझाव, रिभ्यु, गुनासो आदि दिन सक्दछन् । नागरिकले सरकारका कस्ता प्रोजेक्ट सञ्चालित छन्, कति बजेट छुट्याइएको छ, एपबाटै जानकारी लिन सक्छन् । त्यसैगरी सरकारी विभागहरुले वेबमा आधारित एप्लिकेशनबाट नागरिकसँग सहजै सञ्चार गर्न र उनीहरुको आवश्यकता अनुसार काम गर्न सक्छन् ।
वाटर टेस्टर एप
इस्लिङटन कलेजकी दोर्जी खाँदो लामाले बनाएको प्रोजेक्ट हो, वाटर टेस्टर एप । यो एपले पानीको गुणस्तर जाँच्छ । एपको प्रयोगमार्फत् पानीमा मिसिएको विभिन्न केमिकलहरुको बारेमा जानकारी लिन सकिन्छ । यो एप्लिकेशनका लागि वाटर स्ट्रिप हार्डवेयर प्रयोग गरिन्छ र पानीको शुद्धता प्रतिशत निकालिन्छ । हाम्रो जस्तो देशमा पानीको शुद्धता मापन गर्ने काम झन्झटिलो र महँगो हुने हुँदा यो प्रविधि सजिलो र प्रभावकारी हुन्छ ।