कीवर्डहरू -

आज आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनाले, यी विधामा हुँदै छ अवार्ड वितरण

आज आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनाले, यी विधामा हुँदै छ अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा चौथो संस्करणको आइसिटी अवार्ड आज हुँदै छ । काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने यो अवार्ड कार्यक्रम नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित सम्मान कार्यक्रम हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणि पोखरेलसहित अवार्ड कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नीति निर्माता, उद्योगी एवं व्यवसायीहरु, शिक्षा, बैंकिङ तथा अन्य कर्पोरेट क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता हुने जनाइएको छ ।

आइसिटी अवार्डमा यसअघि घोषणा गरिएको ९ विधाका साथमा थप २ विधा पनि समावेश गरिएको छ । यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, आन्टरप्रेनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।

त्यस्तै पब्लिक च्वाइस आइसिटी अवार्डको विधा पनि थपिएको छ । आयोजकले दिएको जानकारी अनुसार अवार्ड कार्यक्रममा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान दिइने छ ।

कार्यक्रम साढे ४ बजेदेखि सुरु हुने छ । हिमालयन एचडी टिभी, हाम्रो पात्रो, फेसबुक र युट्युब च्यानलबाट अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।