कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ सम्पन्न, कसले कुन अवार्ड पाए ?

आइसिटी अवार्ड २०१९ सम्पन्न, कसले कुन अवार्ड पाए ?

काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरियो । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गरेका थिए ।

१० विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो भने प्रडक्ट आइसिटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले हात पार्यो । त्यस्तै राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जित्न सफल भयो । यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनलाई वितरण गरियो ।

\"Image

त्यस्तै आइसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरियो ।

\"Image

विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेशिनका संस्थापक डा. समीर मास्केलाई वितरण गरियो ।

\"Image

आइसिटी अवार्ड अन्तर्गत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालयलाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ । त्यसैगरी सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्याकंन गर्दे नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन आइसिटी अवार्ड वितरण गरियो । त्यस्तै कान्तिपुर दैनिकका पत्रकार विजय तिमिल्सनालाई मिडिया पर्सन आइसिटी अवार्ड वितरण गरियो । सो अवसरमा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान दिइएको थियो ।

  • स्टार्टअप आइसिटी अवार्ड – ई–डिजिटल नेपाल प्रालि
  • प्रडक्ट आइसिटी अवार्ड – मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
  • पायोनियर आइसिटी अवार्ड – डा. महावीर पुन
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड – डा. समीर मास्के
  • आन्टरप्रेनियर आइसिटी अवार्ड – अमित अग्रवाल
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड – लोकसेवा आयोग
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड – नेपाल खुला विश्वविद्यालय
  • पब्लिक च्वाइस आइसिटी अवार्ड – किताबयात्रा प्रालि
  • राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – रक्तदान
  • मिडिया पर्सन आइसिटी अवार्ड – विजय तिमिल्सना

आइसिटी अवार्ड २०१९ का निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले यसपटक विभिन्न छनौट प्रक्रिया अवलम्बन गर्नुका साथै उत्कृष्ट कम्पनी, प्रडक्ट र संस्थाको फिल्ड भिजिट पनि गरिएको जानकारी दिए ।

\"Image

आइसिटी अवार्डका संयोजक राजन लम्सालले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने हेतूले आइसिटी अवार्ड आयोजना गरिएको जानकारी दिदै यस वर्षको अवार्डमा देशव्यापी रुपमा विभिन्न विधामा सहभागीहरु आएको बताए । उनले सूचना प्रविधि उद्योग निर्माणमा अवार्डले महत्वपूर्ण योगदान दिन सक्ने भनाइ राखे ।

यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाईराष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने भएको छ । यसबाहेक अवार्डका विजेताहरुले विभिन्न छुट, सुविधा, लगानीको अवसर आदि प्राप्त गरेका छन् ।

आइसिटी अवार्ड २०१९ सफल बनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम लगायत दुई दर्जन बढी संस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए ।

विज्ञान प्रविधिको नयाँ नीति आउँदै : मन्त्री पोखरेल

आइसिटी अवार्ड २०१९ समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रका लागि नयाँ नीति ल्याउने कार्य अन्तिम चरणमा रहेको बताएका छन् । १५ वर्षपछि यो क्षेत्रका लागि नयाँ नीति बन्न लागेको बताउँदै उनले विकास र समृद्धिका लागि सरकारले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता पारेको भनाइ राखे । उनले भने, ‘नयाँ बन्ने नीतिको आधारमा संरचनात्मक परिवर्तन गर्नुपर्छ । नीतिको आधारमा हाम्रा संघसंस्थाहरुलाई पुनसंरचना गर्नुपर्छ । आवश्यकता परेको क्षेत्रमा नयाँ ऐन बन्नुपर्छ । जनशक्ति उत्पादनका क्षेत्रहरुमा विज्ञान प्रविधिले जोड्नुपर्छ ।’

विश्वमा देखिएको प्राविधिक क्रान्तिमा नेपाललाई जोड्न सरकार मात्रै एक्लै हिँडेर सम्भव नहुने भएकाले निजी क्षेत्रसँग साझेदार गर्दै भावी लक्ष्य प्राप्ति गर्नुपर्नेमा उनको जोड रहेको थियो । मन्त्री पोखरेलले आइसिटी अवार्डबाट पुरस्कृत विजयीहरुलाई आगामी दिनमा योजनाबद्ध रुपले काम गर्दै समृद्ध देशका लागि एकजुट हुन शुभकामना दिए । सो अवसरमा पूर्वमन्त्री गणेश साह र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा आइसिटी अवार्डले यो क्षेत्रमा सम्भावनाको खोजी गर्दै समग्र आइटी उद्योगको विकासमा टेवा पुर्याएको भनाइ राखेका थिए ।
\"Image \"Image \"Image \"Image