कीवर्डहरू -

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच संस्थागत सहकार्य

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच संस्थागत सहकार्य

काठमाडौं– हालै सम्पन्न आइसिटी अवार्ड २०१९ मा पब्लिक च्वाइस आइसिटी अवार्ड जित्न सफल किताब यात्रा प्रालिले केसिएल अस्ट्युट क्यापिटलसँग द्विपक्षिय संस्थागत सहकार्य  गर्ने भएकाे छ । आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न यी दुई संस्थाबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्क (Annual Management Fee on Portfolio Management Service) मा ३३ प्रतिशत छुट प्रदान गर्ने छ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटलका ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिशत छुट प्रदान गर्नेछ ।

उक्त समारोहमा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषि राम अधिकारी र वित्त तथा कानून सल्लाहकार सन्तोष ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरे ।

‘अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्न सकिने प्ल्याटफर्म  निर्माण गरेको हो ।

अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ ।

केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूँजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूँजी बजारबारे जानकारी नभएका साथै नेपालको पूँजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।