कीवर्डहरू -

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं: नव नियुक्त महावाणिज्यदूत

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं: नव नियुक्त महावाणिज्यदूत

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्धन गर्ने उनीहरुले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाबगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

आफुहरु लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उहाँले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्धन गर्न आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारिकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आआफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।