विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकेट काट्न बिरामीले अस्पतालमा समेत पुग्न पर्दैन । घरमाै बसेर अस्पतालको ओपिडी टिकेट काट्न सक्नेछन्। प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात विराट मेडिकल कलेजबाट भएको छ।
मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एपमार्फत घरमै बसेर टिकेट काट्न सक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकेट काट्ने व्यवस्था सुरु गर्ने विराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो । अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सुरु गरेको छ। अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डेनिश कार्कीले जानकारी दिए ।
अहिले यो सेवामार्फत टिकेट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ।
‘अस्पतालमा ओपिडीको टिकेट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं। अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन्,’ उनले भने ।
अहिले यो सेवा मार्फत टिकेट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ। प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि विशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका जनरल म्यानेजर खुशल रेग्मीले जानकारी दिए।
प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटनभित्र प्रवेश गरेपछि बिराट अस्पताल (Birat Hospital) मा क्लिक गर्नुपर्ने हुन्छ। विराट अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्नुपर्छ ।
त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकेटको मूल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ।
यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क ( KIOSK ) मेसिन’ बाट पनि टिकेट लिन सक्ने व्यवस्था समेत गरेको छ।
यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ।
याे पनि पढ्नुहाेस् : स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’