काठमाडौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको अग्रसरतामा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको छ ।
देश विदेशमा रहेका नेपाली र विदेशीहरुले गरेको ८ करोड रुपियाँ बराबरको सहयोगमा स्थापना गरिएको आविष्कार केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।
केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको छ ।
आविस्कार केन्द्र प्रोजेक्टहरु काठमाडौं बाहिर पनि सञ्चालनमा छन् । नयाँ प्रविधिको विकास र पुरानो प्रविधिको स्तरोन्नतिमा केन्द्रित भएर आविष्कार केन्द्रले काम गर्न सकेकोमा सन्तोष मिलेको पुन बताउँछन् ।
नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनुभयो ।