कीवर्डहरू -

पर्यटकीय स्थल रारामा पुग्यो अत्याधुनिक प्रविधिको फोरजी

पर्यटकीय स्थल रारामा पुग्यो अत्याधुनिक प्रविधिको फोरजी

नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ ।

तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा मंसिर १९ गते देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो ।

यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ ।

त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ ।

समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ ।

राजा महेन्द्रद्वारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो ।

फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनु भयो ।

रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।