कीवर्डहरू -

शुक्रबार र शनिबार काठमाडौंमा ‘आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला’, नि:शुल्क अवलाेकन गर्न सकिने

शुक्रबार र शनिबार काठमाडौंमा ‘आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला’, नि:शुल्क अवलाेकन गर्न सकिने

काठमाडौं । यही शुक्रबार र शनिबार (पुस ४ र ५ गते) काठमाडौंमा ‘फ्युजमेशिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला’ हुँदैछ । नेपाली स्टार्टअप र इन्नोभेसनको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच बृहत् छलफलका लागि आयोजना हुने यो मेला थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा हुनेछ ।

मेलाको आयोजक लिभिङ विथ आइसिटी रहेको छ, जसले विभिन्न प्रदेशमा स्टार्टअप एन्ड इन्नोभेसन मेला गर्दै आएको छ भने राष्ट्रियस्तरको आइसिटी अवार्ड समेत आयोजना गर्ने गर्दछ ।

पुस ४ देखि २ दिनसम्म हुने मेलामा ५० बढि स्टार्टअपहरुको सहभागिता रहने जनाइएको छ ।  स्टार्टअप कम्पनीको एक्जिबिसन र प्रडक्ट डेमोका अतिरिक्त विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरुको प्रदर्शनी गरिने छ । साथै रोबोटिक्स कम्पिटिशन, आइटी एजुकेशन काउन्सिलिङ, जब फेयर एवं काउन्सिलिङ लगायत हुने छ ।

नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु पनि प्रदर्शनमा राखिनेछ भने हालै अन्तरीक्षमा प्रक्षेपण भएको नेपाली नानो स्याटेलाइटीको विशेष प्रदर्शनी गरिने छ ।कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ ।

दाेस्राे दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । प्रदर्शनी अवलोकन सबैलाई नि:शुल्क गरिएको छ । यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।


स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि ’फयुज मेशिन्स’ ले गरेको छ  । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ । वर्कशप, कन्फ्रेन्समा सहभागी हुन तथा स्टल राख्न चाहने  स्टार्टअप कम्पनीहरुले nepalistartup.com वेबसाइटमा अनलाइन रजिस्टर गर्नुपर्ने हुन्छ ।