कीवर्डहरू -

यो वर्षको क्यान इन्फोटेक ६ दिन सम्म चल्ने, उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुदै

यो वर्षको क्यान इन्फोटेक ६ दिन सम्म चल्ने, उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुदै

काठमाण्डौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२० आगामी फागुन २ गते देखि ७ गते सम्म हुने भएको छ । पुस २ गते कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले पत्रकार सम्मेलन गरेर यसको मिति घोषणा गरेको हो । हरेक वर्ष आयोजना हुने  क्यान इन्फोटेकको  यो २६ औं संस्करण हो ।

सुचना प्रविधि र मनोरन्जन प्रदर्शनी हुने क्यान इन्फोटेक २०२० उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुने भएको छ । जसमा प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को वुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिने क्यान महासंघले बताएको छ ।

२६ औं संस्करणको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजनमा प्रभु पे, अफिसियल इन्सोरेन्समा प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इपे ले प्रायोजन गरेको छ । त्यसैगरी एसोसिएशन पार्टनरको रुपमा वल्र्ड लिंक रहेको छ ।  सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एसोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको आयिजकले जानकारी दिएको छ ।

सुचना प्रविधि तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना हुदैछ ।

प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छ ।

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकार आइटी कलेज, बैंक तथा लेखा सम्बन्धि  सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका र आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर लगायत प्रदर्शनीमा रहने छन् । इन्फोटेकलाई पेपरलेस बनाउन यहि पुस ६ गतेबाट अनलाइन टिकट बुकिङ पनि खुल्ला गरिदै छ ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएशन नेपाल (क्यान) नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ-संस्था र व्यवसायीहरुको छाता संगठन हो ।

यसले सुचना तथा सञ्चार प्रविधि सम्बन्धि विभिन्न कामहरु गर्दै आएको छ । सन् २०१५ मा कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघमा रुपान्तरीत भएको हो ।