कीवर्डहरू -

के हो बिसिए शैक्षिक कार्यक्रम ?

एक सय ४० बढि कलेज !

के हो बिसिए शैक्षिक कार्यक्रम ?

धेरैजसो विश्वविद्यालयका बिसिए कार्यक्रम पढ्न प्लस टु तहमा जुनसुकै संकाय भए पुग्छ । सामान्यतया यो चारवर्षे ग्य्राजुएसन डिग्रीका रुपमा चिनिन्छ । ‘यो कोर्स कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफट्वेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको शैक्षिक कार्यक्रम हो,’ पोखरा विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने एनसिआइटीका प्रिन्सिपल निरञ्जन खकुरेलले भने ।

उनका अनुसार यो कोर्सले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनहरुमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्दछ । ‘बिसिएले आइटीका साथै बिजनेश तथा एडमिनिस्ट्रेसनको पक्षलाई पनि समेट्ने भएकाले ग्य्राजुएटमा म्यानेजरियल क्षमता प्राप्त हुन्छ,’ त्रिभुवन विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने टेक्सास इन्टरनेसनल कलेजका कुमार पौडेलले भने ।


उच्च मावि तह (प्लस टु) सकेका विद्यार्थीका लागि आइटी तथा कम्प्युटिङ क्षेत्रमा काम गर्ने अवसर यस कोर्सले प्रदान गर्नुका साथै यसपछि एमसिए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसिए), एमएससी आइटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्ने उनी बताउँछन् ।

बिसिएका सयभन्दा बढि कलेज
त्रिविले यो शैक्षिक सत्रदेखि मात्रै आफ्ना सम्बन्धनप्राप्त कलेजहरुमा यो विषयको स्वीकृति दिएको छ । तर, नेपालमा बिसिए कार्यक्रम धेरै पहिलेदेखि सञ्चालित छ । यसअघि लर्डबुद्ध एजुकेसन फाउन्डेसन, आइसिए (काडमाडौं)लगायतले भारतीय इन्स्टिच्युटका बिसिए कार्यक्रम ल्याएका थिए । यी तीनवर्षे कार्यक्रम थिए । हाल नेपालमा भारतीय बिसिए कार्यक्रम सञ्चालनमा छैनन् । स्वदेशी विश्वविद्यालयमा भने पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले बिसिए कार्यक्रम ल्यायो । उसले आफ्ना आंगिक क्याम्पस पुसेटमार्फत यो कोर्स सुरु गरेको थियो । केही वर्षअघिसम्म यो तीनवर्षे कार्यक्रम थियो भने अहिले चार वर्षको बनाइएको छ ।


यसपछि पोखरा विश्वविद्यालयले बिसिए कार्यक्रम ल्यायो । गत वर्षदेखि त्रिविले आफ्ना ६ आंगिक क्याम्पसबाट चार वर्षको बिसिए कार्यक्रम सुरु गरेको थियो भने यो शैक्षिक सत्रदेखि त्रिवि सम्बन्धनप्राप्त ‘मापदण्ड’ पुगेका १ सय १६ कलेजहरुमा यो कार्यक्रम सञ्चालन हुँदै छ । जुनुसुकै शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीहरुले पनि अध्ययन गर्न सक्ने गरी डिजाइन गरिएकाले कोर साइन्सको ब्याकग्राउन्ड नभएका विद्यार्थीका लागि पनि सूचना प्रविधिको क्षेत्रमा करिअर बनाउने बाटो बिसिएले दिएको छ ।

विश्वविद्यालय                      बिसिए सम्बन्धन प्राप्त कलेज
त्रिभुवन विश्वविद्यालय              ११६
पूर्वाञ्चल विश्वविद्यालय              ७
पोखरा विश्वविद्यालय                 ९
अन्य विश्वविद्यालय                  ५