कीवर्डहरू -

आइटी विधेयक लोकतन्त्रको देखाउने मोहोडाः साझा पार्टी

आइटी विधेयक लोकतन्त्रको देखाउने मोहोडाः साझा पार्टी

साझा पार्टीले सूचना प्रविधि विधेयकको व्यापक विरोध हुँदाहुँदै पनि सरकारले उक्त विधेयक फिर्ता नलिनु अत्यन्तै खेदजनक रहेको बताएको छ ।

प्रस्तावित सूचना प्रविधि विधेयक नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको शिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकूल रहेको साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले निकालेको विज्ञप्तीमा भनिएको छ ।

सरकारले लोकतन्त्रलाई देखाउने मोहोडाको रूपमा प्रयोग गर्ने र शक्ति केन्द्रीकृत गर्दै सत्ता र समाजमाथिको पकड मजबुत बनाउने दुष्प्रयास गरिरहेको आरोप पार्टीले लगाएको छ ।

सुचना प्रविधि विधेयकले न्यायपालिकाको अधिकारलाई कार्यपालिकाको परिधिभित्र ल्याउने प्रस्ताव गरेको छ । साथै, वर्तमान छापाखाना तथा प्रकाशन ऐन, राज्य विरूद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र गाली बेइजज्जती सम्बन्धी कसुरमा भएको सजायाहरू भन्दा नयाँ ल्याइएको विधेयका सजायाहरू असामान्य र अत्यधिक रहेको विज्ञप्तीमा उल्लेख छ ।

यो विधेयक पारित भएको खण्डमा सामाजिक सञ्जालको प्रयोगमा समेत नियमन होइन स्पष्टरूपमा नियन्त्रण लागू हुने पार्टीको भनाई छ ।

त्यसैले साझा पार्टीले प्रस्तावित सूचना प्रविधि विधेयक तुरून्त फिर्ता गर्न, विज्ञहरूसँग राय सल्लाह लिन र संसोधित विधेयक तयार पार्न सरकारसँग जोडदार माग गरेको छ ।