वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत गर्न सकिने भएको छ ।
जसको लागि वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अनलाइन भुक्तानी गर्नको लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाइँ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्ट आईपीएस र विभिन्न बैंकहरुबाट अनलाइन भुक्तानीहरु गर्न सक्नेछन् ।
वैदेशिक रोजगारमा जानेहरुले बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शूल्क र वैदेशिक रोजगार कल्याणकारी कोषको शूल्क, भाषा परीक्षण शूल्क, म्यानपावर तथा स्वास्थ्य संस्थाहरुको नविकरण शूल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईन मार्फत गर्न सक्ने छन् ।