कीवर्डहरू -

क्यान इन्फोटेक २०२० को तयारी तीव्र, हालसम्म ८० प्रतिशत स्टल बुकिङ

क्यान इन्फोटेक २०२० को तयारी तीव्र, हालसम्म ८० प्रतिशत स्टल बुकिङ

काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो जानकारी दिएको हो ।

२६औं संस्करणको क्यान इन्फोटे आगामी फागुन २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ । यस संस्करणको शीर्ष प्रायोजकमा डिजिटल पेमेन्ट सिस्टम प्रभु पे रहेको छ । त्यस्तै एशोसिएट स्पोन्सरमा वल्र्डलिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमन्ड स्पोन्सरमा भायनेट कम्युनिकेशन्स रहेको छ ।

त्यसैगरी स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिस्ट्रिब्युसन गोल्ड स्पोन्सर रहेका छन् भने जिनिस सोल्युसन, लर्ड बुद्ध एजुकेशन फाउन्डेशन र एस पावर बिपिई सिल्भ स्पोन्सर रहेका छन् ।

प्रदर्शनीमा रहेका १७४ स्टलमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी आयोजकले दिएको छ । यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेसन एक्सपोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्नेछन् । त्यस्ता सहभागीलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई नेश्नल आइसिटी डेको अवसर पारेर पुरस्कृत गर्ने घोषणा आयोजकले गरेको छ ।

प्रायोजकहरुले स्तर अनुसारको स्टल, भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।

क्यान इन्फोटेक २०२० को आयोजना नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ ।

त्यसैगरी, स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि रहेको छ । सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्रान्डिङ, आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, ई–बेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र हुने बताइएको छ ।

अपरेटिङ सिस्टम सफ्टवेयर, नेट वर्किङ सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिनटर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनीमा राखिनेछन् ।

गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।