कीवर्डहरू -

लकडाउनको अवधिमा नेपाल टेलिकमको सेवामा छुट

जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था

लकडाउनको अवधिमा नेपाल टेलिकमको सेवामा छुट

नेपाल सरकारले चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्नेछ ।

त्यस्तै नेपाल टेलिकमले सुपथ मूल्यमा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक समेत उपलव्ध गराउने निर्णय गरेको छ ।

सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र प्रयोग गर्नु पर्नेछ ।

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र प्रयोग गर्नु पर्नेछ ।

यसरी  १ सय रुपैयाँमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी टेलिकमले कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ ।

जसमा पहिलो प्याकेज अन्तर्गत ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ ।

यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र  १०० रुपैयाँमा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

युएसएसडी र नेपाल टेलिकमको एपबाट खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

युएसएसडीबाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्ने हुन्छ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

यसको अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा त्यस्तै फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ ।

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।