कीवर्डहरू -

अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने

अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने

डेढ वर्षदेखि अनलाइन अर्डर लिएर घर घरमा पुस्तक पुर्‍याउँदै आएको थुप्रै डट कमले नेपाली पुस्तकहरु ईबुकको रुपमा अनलाइनमै उपलब्ध गराउन सुरु गरेको छ ।

लकडाउनको समयमा पुस्तक प्रेमीहरु घरबाट बाहिर निस्कन पाएका छैनन् भने अनलाइन डेलिभरीका सेवा पनि ठप्प छन् ।

यस बेलामा ईबुकको आवश्यकता बढ्न गएको छ तर नेपाली पुस्तकहरु विद्युतीय माध्यमबाट प्रकाशन तथा उपभोग दुवै असहज रहेकाले थुप्रैले ईबुक उपलब्ध गराउन सुरु गरेको हो ।

\"\" नेपाली भाषाका पुस्तकहरु ईबुकको रुपमा खरिद गर्न सहज नभएको अवस्थामा पुस्तक प्रेमीहरुलाई सहजरुपमा ईबुक उपलब्ध होस् भन्ने अभिप्राय अनुरूप यो सेवा सुरु गरिएको हो ।

नेपालमा रहेका पाठकहरुले अब घरबाटै खल्ती, ईसेवा, फोन पे जस्ता स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिङ मार्फत पुस्तक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् ।

\"\"

त्यसैगरी नेपाली प्रकाशकहरुले पनि स्वदेशमै ईबुक प्रकाशनको सम्पूर्ण सेवा प्राप्त गर्ने छन् । थुप्रै डट कमले नेपालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, बुक हिल, बुलबुल, शिल्पी कला समूह, अक्षर क्रियशन लगायतका प्रकाशन गृहहरुसँगको सहकार्यमा यो सेवाको सुरुवात गरेको छ ।

धेरै पुस्तकहरु न्यूनतम शुल्कमा र केही पुस्तकहरु निःशुल्क पनि उपलब्ध गराइएको छ । निरन्तररुपमा पुस्तकहरु थपिदै जाने छन् । पुस्तक पढ्नका लागि थुप्रै डट कमले आफ्नै मोबाइल एप समेत निर्माण गरेको छ ।

\"\"

‘एन्ड्रोइड फोन तथा ट्याब्लेटका लागि एप सार्वजनिक भइसकेको छ भने आईफोन र आईप्याडका लागि यही साता सार्वजनिक गर्ने लक्ष्य राखिएको थुप्रैका सहसंस्थापक राजु गोतामे भन्छन्, ‘यो सेवा हामीले नेपाली पठन संस्कृतिलाई थप टेवा पुर्‍याउने उद्देश्यले शुरु गरेका हौं। हामीलाई आशा छ थप लेखक र प्रकाशकहरुका पुस्तक हामीसँग जोडिंदै जाने छन्’ ।

थुप्रै डट कमले आफ्नो प्लाटफर्मबाट मात्रै नभई एमेजन किन्डल, गुगल प्लेबुक्स, कोबो, एप्पल बुक्स लगायतका ईबुक स्टोरहरुमा पनि नेपाली प्रकाशन गृह तथा स्वप्रकाशित लेखकहरुका पुस्तकहरु उपलब्ध गराइ विश्वभरी नै नेपाली पुस्तक खरिद गर्न सकिने व्यवस्था गरेको छ ।