कीवर्डहरू -

लकडाउनको कारण करिब ६७ करोड रुपैयाँले घट्यो टेलिकमको आम्दानी

लकडाउनको कारण करिब ६७ करोड रुपैयाँले घट्यो टेलिकमको आम्दानी

आर्थिक वर्ष २०७६-७७ को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमले २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार आम्दानी गरेको छ ।

टेलिकमले गएको आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले गत वर्षको तुलनामा करिब ६७ करोड रुपैयाँले चालु आर्थिक वर्षमा टेलिकमको आम्दानी घटेको छ ।

२०७५ चैत्र १ देखि रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको र कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ । यसरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँलेले बढी हुने कम्पनीको दाबी छ ।

त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको टेलिकमले जनाएको छ ।

लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत बोनस रकम कूल ५३ करोड ४० लाख रुपैयाँ बराबरको छ ।

सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३० लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको छ ।

त्यसैगरि मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशत सम्म छुट प्रदान गरिएको जुन ८ करोड २० लाख रुपैयाँ बराबरको हुन्छ ।

यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९९ लाख रुपैयाँ बराबरको नकारात्मक असर परेको हो । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान समेत गरेको छ ।

प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले बताएको छ ।