अहिले देश २ महिनाबढि समयदेखि लकडाउनमा छ । विद्यालयहरु बन्द छन । केहि विद्यालयहरुले अनलाइन शिक्षाको सुरुवात गरिसकेका छन भने केहि तयारीमा छन । ग्रामिण क्षेत्रका अधिकांश विद्यार्थीहरु अनलाइन शिक्षामा पनि बन्चित छन । नेपाल दुरसञ्चार प्राधिकरणले हरेक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा स्मार्ट ल्याब बनाउने काम पनि लकडाउन अघिसम्म सञ्चालन मै थियो । शिक्षालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने बारेमा यहा केहि जानकारीहरु प्रस्तुत गरिरहेका छौ ।
प्रविधिमैत्री शिक्षक
स्मार्ट शिक्षणका लागि शिक्षक प्रविधिमैत्री हुन जरुरी छ । हामीले २१औं शताब्दीमा शिक्षाको कुरा गरिरहे पनि हाम्रा विद्यालयले १८औं शताब्दीको जनशक्ति उत्पादन गरिरहेका छन् । परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न नसक्ने हो भने अझै धेरै वर्ष यही परिणाम दोहोरिरहनेछ । शिक्षकले एकोहोरो भाषण र प्रवचन दिने र विद्यार्र्थीले किताबका विषयवस्तुलाई कण्ठ पारेर हुबहु परीक्षामा उतार्ने प्रवृत्तिले देशको शिक्षा क्षेत्र उकासिदैन ।
पूर्वाधारको विकास
स्मार्ट विद्यालय र डिजिटल शिक्षाका लागि कम्प्युटर, ल्यापटप, ट्याब्लेट प्रिन्टर, प्रोजेक्टर, डिजिटल बोर्ड, इन्टरनेट जस्ता पूर्वाधारको सहज पहुँच हुनुपर्छ । यसअन्तर्गत विद्यार्थीले पनि स्मार्ट ग्याजेटहरुबाटै पढ्ने अवसर पाउँछन् । अहिले मल्टिमिडियाको प्रयोग गरी शिक्षण र सिकाई प्रक्रियालाई सहजीकरण गर्ने काम विद्यालयले गर्न थालेका छन् । यस्ता पूर्वाधारको सहज पहुँचले मात्रै स्मार्ट विद्यालयको आधार तयार पार्दछ ।
डिजिटल कन्टेन्ट
पूर्वाधार भएर मात्रै विद्यालय स्मार्ट बन्दैन । पाठ्यक्रमको डिजिटाइजेशन गरी शिक्षक र विद्यार्थीले पढाउने र पढ्ने काममा लाभ लिनुपर्दछ । नेपालमा अहिले पाठ्यक्रम विकास केन्द्रले बनाएका पाठ्यक्रमअनुकूल र त्यसलाई थप सहयोग गर्नेगरी कन्टेन्ट (लर्निङ प्लाटफर्म) आइरहेका छन् ।
कम्प्लिट स्कुल इआरपी सिस्टम
कम्प्लिट स्कुल इआरपीले स्कुलका विभिन्न गतिविधिहरुलाई व्यवस्थापन गर्ने काम गर्दछ । यसले विद्यार्थीलाई भर्नादेखि शुल्क, परीक्षा, कक्षा आदिको व्यवस्थापन गर्ने काम गर्दछ । स्कुल सञ्चालन गर्नका लागि र अटोमेसनमा जानका लागि यस्तो सफ्टवेयर अत्यावश्यक हुन्छ । जस्तै विद्यार्थीको हाजिरी, एसाइन्भेन्ट, स्कुलको एकाउन्ट म्यानेजमेन्ट, फि तिर्ने लगायतका काम सफ्टवेयरमै आधारित भई गर्न सकिन्छ ।
हाई स्पिड इन्टरनेट
इन्टरनेटविना अब विद्यालय मात्रै होइन, केही पनि स्मार्ट बन्न सक्दैनन् । विद्यालयको नियमित कामकारबाही चलाउनदेखि शिक्षण र सिकाइ प्रक्रियाका लागि उच्च गतिको इन्टरनेट आवश्यक हुन्छ । हरेक कक्षा कोठामा इन्टरनेटको सहज पहुँच पु¥याउन, विभिन्न सफ्टवेयर चलाउन गुणस्तरीय इन्टरनेट आवश्यक पर्छ । यसका लागि उच्च गतिको डेडिकेटेड इन्टरनेट सेवाको आवश्यकता पर्दछ ।
भेइकल ट्रयाकिङ सिस्टम
स्मार्ट स्कुलका लागि अर्को आधार हो, भेइकल ट्र्याकिङ सिस्टम । स्कुल बस तथा अन्य स्कुलसम्बन्धी गाडीहरुलाई व्यवस्थापन गर्ने काम यसले गर्दछ । यो सिस्टमबाट गाडी कहाँ छ, कति खेर आउँछ र जान्छ भन्ने लगायतको जानकारी पाइन्छ । यस्तो सुविधाले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई लाभ पु¥याउँछ भने समयको बचत गराउँछ ।
एसएमएस इन्टिग्रेसन
स्कुलका गतिविधिबारे अभिभावक, शिक्षक र विद्यार्थीलाई एसएमएसबाट सूचना गर्न सकिन्छ । बल्क एसएमएस इन्टिग्रेसनको सहयोग लिई सानोदेखि ठूला सूचना एसएमएसबाटै प्रवाह गराउन सकिन्छ ।
अभिभावको कनेक्सन
स्मार्ट स्कुल बन्न अभिभावक पनि उत्तिकै भूमिका जरुरत छ । आफ्ना बच्चाहरुको गतिविधि, प्रगतिबारे थाहा पाउनु अभिभावकको दायित्व हो । यसका लागि प्रविधिको सहयोग लिन सकिन्छ । अहिलेका सफ्टवेयरहरुमा अभिभावकले पनि आफ्नो युजरनेम र पासवर्ड राखी बच्चाहरुको प्रगति हेर्न र थाहा पाउन सक्छन् । अभिभावकलाई शिक्षक र स्कुलसँग जोड्ने आधार नै अहिले प्रविधि भएको छ ।
वेबसाइट र मोबाइल एप
शिक्षण र सिकाइका लागि वेबसाइट र मोबाइल एप अनिवार्य बनिसकेका छन् । विद्यार्थी र शिक्षकका लागि डिजिटल कन्टेन्ट एक्सेस गर्न सजिलो हुने वेबसाइट र मोबाइल एप हुनुपर्छ । यसबाट जतिबेला जहाँबाट पनि पढ्न मिल्ने हुनुपर्छ । योबाहेक स्कुलको आफ्नै वेबसाइटबाट स्कुलका गतिविधिको नियमित जानकारी दिने, विभिन्न सूचनामूलक सामग्री राख्ने आदि गर्न सकिन्छ ।
डिजिटल नोट
विद्यार्थीले डिजिटल मिडियमको प्रयोगबाट नोट लेख्न सक्छन् । ट्याब र डिजिटल पेनको मद्दत लिई गह्रौं टेक्स्ट बुक र कपी बोक्नुपर्ने झन्झट हुँदैन । उनीहरुले क्लाउडमै आफ्ना नोट र सामग्री राख्न सक्छन् ।
विद्यार्थीको प्रोगेस ट्रयाकिङ
विद्यार्थीको अध्ययनमा कस्तो प्रगति भइरहेको छ भनेर थाहा पाउने तरिका हो यो । आफ्नो ज्ञानको स्तर र प्रगति कस्तो छ भनेर प्रविधिमार्फत नै छिटो एक्सेस गर्न मिल्ने तरिका हो यो । यसको प्रयोग नियमित रुपमा कक्षा कोठामा समेत गर्न सकिन्छ ।