कीवर्डहरू -

असार १ गतेदेखि टेलिभिजबाट विद्यार्थीलाई पढाउदै प्याबसन

असार १ गतेदेखि टेलिभिजबाट विद्यार्थीलाई पढाउदै प्याबसन

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) ले असार १ गतेदेखि टेलिभिजनको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने भएको छ ।

प्याबसनले असार १ गतेदेखि विद्यार्थीहरुलाई जनता टेलिभिजन, टिभि टुडे, योहो टेलिभिजन र टिभि टुडेको अर्को च्यानल टिभि वानबाट पढाउने भएको हो ।

प्याबसनले वैकल्पिक शिक्षण प्रणालिको लागि केन्द्रिय उपाध्यक्ष गोपाल आचार्यको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ ।

हरेक कक्षाका विद्यार्थिको लागि फरक फरक टेलिभिजन छनौट गरिएको छ । जसमा कक्षा ७, ८,९ र १० कक्षाका विद्यार्थिहरुलाई जनता टेलिभिजनबाट पढाइने छ । जनता टिभिबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रसारण हुनेछ ।

कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थिहरुलाई टिभि टुडेबाट पढाइने छ । २ बजेर ५५ मिनेट देखि ५ बजेसम्म पढाइने छ ।

जनता टिभि, टिभि टुडेसँग सम्झौता भएपनि योहो टिभिसँग बिहीबार सम्झौता हुदैछ । योहो टिभिबाट कक्षा नर्सरी, एलकेजी, युकेजी र एक कक्षाका विद्यार्थिलाई पढाउने गरि सम्झौता हुनेछ ।

योहो टिभिबाट १२ बजेर ५५ मिनेट देखि दिउँसो ३ बजेसम्म पढाइने छ । त्यस्तै टिभि टुडेको अर्को च्यानल टिभि वान मार्फत टिभि टुडेबाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डड प्रसारण हुनेछ ।

टेलिभिजनबाट पढाउदा लाग्ने शूल्क प्याबसनको केन्द्रिय समितिले व्यहोर्ने छ । भने पढाउने शिक्षक तथा विषयबारे बिहीबार टुङ्गो लाग्ने छ ।