कीवर्डहरू -

प्ले स्टोरबाट खल्ती १० लाख भन्दा बढी डाउनलोड, नेपाली भर्सनमा समेत ल्याउने तयारी

प्ले स्टोरबाट खल्ती १० लाख भन्दा बढी डाउनलोड, नेपाली भर्सनमा समेत ल्याउने तयारी

डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती मोबाइल एप प्लेस्टोरबाट १० लाख भन्दा बढी डाउनलोड भएको छ । एन्ड्रोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा खल्ती पनि एक बनेको छ ।

‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोबाइल वालेट बनेको छ ।

आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । khalti.com वेबसाइटबाट पनि अनलाइन पेमेन्ट गर्न सकिन्छ ।

मोबाइल र वेवपेजसमेत गरेर खल्तीका प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ । कम्पनीले छिट्टै नेपाली भर्सनमा समेत खल्ती ल्याउने तयारी गरेको छ ।

‘छोटो समयमै खल्तीले यत्रो लोकप्रियता हासिल गरेकामा हामी निकै उत्साहित भएका छौं । हामीलाइ आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएका छौं । खल्तिका निर्देशक अमित अग्रवालले भने, ‘सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाइ प्रोत्साहन गरिरहेका बेला नेपालीले ‘खल्ती’लाइ आफ्नो स्मार्ट फोनको अभिन्न एप बनाउनु भएकामा हामी उहाँहरूलाइ धन्यवाद दिन चाहन्छौ । उहाँहरू सबैलाइ हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछौं । ‘खल्ती’मा सबै प्रकारका ब्यवसाय, संघसंस्था, सेवा प्रदायकलाइ जोड्दै हरेक कारोबारको भुक्तानी मोवाइलबाटै गर्न सक्ने बनाउन हामी निरन्तर लागिरहने छौं ।’

खल्तीले सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न आफ्नो क्षेत्रबाट योगदान गरिरहेको छ । हरेक घर र परिवारका हरेक सदस्यलाइ खल्तीमार्फत् डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य खल्तीको छ ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो ।

विशुद्ध नेपाली नामलाइ ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामिण भेगसम्म लोकप्रिय बन्न पुगेको छ । दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।

नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ । यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो । यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन् । इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकको पछिल्लो (चैत) तथ्याङ्क अनुसार १ करोड ६ लाख ७० हजार जना नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाख ९२ हजार ७ सय २४ जनले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । खल्तीले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको छ ।