प्रहरीले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटनाको बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै फेसबुक लगायत सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्दै आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटनाको बारेमा कुनै पनि जानकारी वा सूचना भएमा तुरुन्तै खबर गर्न अनुरोध गरेको हो ।
त्यस्ता घटनाको कुनै पनि जानकारी वा सूचना पाएमा तत्काल प्रहरीको आकस्मिक कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी कार्यालय, ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
यसरी फेसबुक लगायत सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाई समयमै प्रहरीलाई जानकारी दिएमा जीवन रक्षा गर्न सकिने समेत साइबर ब्यूरो बताएको छ ।
त्यस्तै लाईभ स्ट्रिमिङ गरी आत्महत्या गरिएका भिडियोहरु सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलमा अपलोड गर्ने, शेयर गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्यहरु नगर्न समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तो कार्य गरेमा नेपालको कानून बमोजिम दण्डनीय भएकोले कसैले पनि नगर्न नगराउन प्रहरीले अनुरोध गरेको छ ।