नेपालको राष्ट्रिय आविस्कार केन्द्र र अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्पोन्स टिम बिच सहकार्य हुने भएको छ । आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले सामाजिक सञ्जाल मार्फत सहकार्य भएको जानकारी दिएका हुन् ।
यो सहकार्यसँगै राष्ट्रिय आविस्कार केन्द्र र स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्पोन्स टिम मिलेर सस्तो भेन्टिलेटर बनाउन अनुसन्धान गर्ने छन् । यो भेन्टिलेटर कोरोना भाइरस संक्रमित बिरामीका साथै कोरोनापछि अस्पतालमा पनि प्रयोग गर्न सकिने छ ।
यदि यो अनुसन्धान सफल भएमा उक्त भेन्टिलेटरको मूल्य एकलाख रुपैयाँ भन्दा पनि कम हुनेछ । स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्पोन्स टिमले डिजाइन गरेर बनाई रहेको भेन्टिलेटरको प्रोटोटाइपको निर्माण आविस्कार केन्द्रमा पनि भइरहेको महाबिर पुनले जानकारी दिएका छन् ।
उक्त भेन्टिलेटरको सम्पूर्ण टेक्निकल विवरण स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्पोन्स टिमले राष्ट्रिय आविस्कार केन्द्रलाई उपलब्ध गराउने छ । त्यसको लागि जूम मार्फत सहकार्य भइरहेको पनि पुनले जानकारी दिए ।
स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्पोन्स टिमले सो भेन्टिलेटर बनाएर एफडिएबाट प्रमाणीकरण गर्ने प्रक्रिया समेत अगाडी बढाएको छ । सो टिमसँग भेन्टिलेटर बाहेको अन्य कुरामा पनि सहकार्य भइरहेको महाबिर पुनले बताएका छन् ।