कीवर्डहरू -

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको हो ।

समर अफर साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ ।

कम्पनीले युट्युब स्ट्रिमिङ डेटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराउने छ ।
त्यस्तै सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डेटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने भएको छ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने १५ रुपैयाँमा ३ रातका लागि २०० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४०० एमबी, १०० रुपैयाँमा ७ दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८०० रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

डे डेटा प्याक अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २५० एमबी डेटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ । यसैगरी वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

१५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।  लार्ज डाटा प्याक अन्तर्गत अब १६०० रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३००० रुपैयाँमा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

फोरजी एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । ग्राहकले *1415# डायल गरी आफ्नो आवश्यकता अनुसार यी प्याक खरिद गर्न सक्ने छन् । नेपाल टेलिकमको एपबाट समेत यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ ।

पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निशूल्क उपलब्ध हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।