कीवर्डहरू -

नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने

नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ ।

यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले ग्राहकलाई केही राहत दिनसक्ने बताएको छ ।

नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ ।

यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सक्ने छन् । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिनेछ ।

कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लककोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सक्ने छन । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध हुनेछन् ।

सबै सुविधाहरु एक्टिभेसन र डिएक्टिभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही किवोर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइटबाट पनि प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।