कीवर्डहरू -

समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनि रकम मागेमा प्रहरीलाई खबर गर्न हाम्रो पात्रोको आग्रह

समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनि रकम मागेमा प्रहरीलाई खबर गर्न हाम्रो पात्रोको आग्रह

समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी कसैले रकम माग गरेमा तत्काल प्रहरीलाई खबर गर्न हाम्रो पात्रोले आग्रह गरेको छ । समाचार पोर्टल सूचिकृत गरिदिन्छु रकम माग गरेको र केही सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ ।

हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेतीले एक सूचना सार्वजनिक गर्दै कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क नलाग्ने प्रस्ट पारेका छन् ।

उक्त सूचनामा भनिएको छ, ‘शुल्क सहितको मिडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं । मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।’

‘यदि तपाईंलाई हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस्,’ उक्त सूचनामा उल्लेख गरिएको छ, ‘हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन ।’

मिडिया सहकार्यमा हामीले गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनदेन हुनेगरेको छैन । तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको हाम्रो पात्रोले यसै सूचनाबाट जानकारी दिएको छ ।

हाम्रो पात्रोका अनुसार यदि तपाईं आर्थिक लेनदेनमार्फत अनलाइन मेडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै हुनुहुन्छ भने त्यो नितान्त ठगि प्रयोजनले भएको हो ।

काठमाण्डौमा रहेको स्मार्ट आइडियाज प्रालि बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय नेपालमा अन्त कतै नरहेको बेहोरा समेत जानकारी गराइएको छ ।