कीवर्डहरू -

प्याब्सनको आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

प्याब्सनको आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ई–लर्निङको प्याकेज सुविधा  सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीले असहमति  जनाएको छ ।

टेलिकमले एक विज्ञप्ती प्रकाशित गर्दै कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई  दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल टेलिकमले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ ।’

\"\"

\"\"

विश्वभरी नै कोरोनाको कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो । सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई मिति २०७७ साउन १५ गते  ̔ई-लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको पाइयो,’ उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल टेलिकमले कोरोना महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान÷प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज मिति २०७७ बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।

अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको छ । यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेका छन् ।

अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी रु. ५०० मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।