कीवर्डहरू -

असोजमा मात्रै थपिए ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबार ४ खर्ब माथि

असोजमा मात्रै थपिए ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबार ४ खर्ब माथि

एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौसम्म २ करोड ५२ लाख ७ हजार १२२ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । यो संख्या असोजसम्म आउँदा बढेर २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ । 

३ लाख १७ हजार ६७ जना नयाँ प्रयोगकर्ता थपिएको असोजमा मोबाइल बैंकिङबाट हुने कारोबारमा समेत वृद्धि भएको छ । असोजमा मात्रै मोबाइल बैंकिङबाट ४ खर्ब १ अर्ब २४ करोड १० लाख कारोबार भएको छ । गत भदौमा मोबाइल बैंकिङबाट ३ खर्ब ६४ अर्बको कारोबार भएको थियो । 

यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०८१ भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए । असोजमा आउँदा त्यो संख्या बढेर २० लाख २६ हजार ५२४ पुगेको छ ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता बढ्दा कारोबार भने घटेको छ । भदौमा इन्टरनेट बैंकिङबाट १९ अर्ब ९४ करोड कारोबार भएकोमा असोजमा आउँदा घटेर १७ अर्ब कारोबार भएको छ ।