कीवर्डहरू -

अब कम्पनी दर्ता अनलाइनबाटै गर्न सकिने

अब कम्पनी दर्ता अनलाइनबाटै गर्न सकिने

अब कम्पनी रजिष्टारको कार्यालयमा नगएर अनलाइनबाटै कागजात पेश गरी कम्पनी दर्ता गर्न सकिने भएको छ । सेवा प्रवाहलाई छिटो र छरितो बनाउने उदेश्यका साथ आगामी भाद्रा १ गतेदेखि यो व्यवस्था लागु हुनेछ ।

अनलाइन मार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानिने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै, ‘अनलाइन मार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानि कार्य गरिने हुँदा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने’ बताएको हो ।

\"\"

‘यसरी दर्ता भएका कम्पनीको छुटै कागजी फाइल खडा नगरिने र अर्को पटक यस कार्यालयमा उक्त कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा कम्पनीले अनलाइनबाटै पेश गरेका विवरण र विद्युतीय अभिलेखलाई नै आधार मानी गरिने’ उक्त सूचनामा उल्लेख गरिएको छ ।

नयाँ तथा पूराना कम्पनीले अबदेखि कम्पनी ऐन २०६३ बमोजिम बुझाउनुपर्ने वार्षिक विवरण, लेखा परीक्षण प्रतिवेदन, लगायतका सबै विवरणहरु अनलाइन मार्फत बुझाउनु पर्ने छ ।

कार्यालयका अनुसार छुटै हार्डकपी बुझाउनु नपर्ने र कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयमा त्यस्ता विवरणहरु सक्कल सहित राख्नुपर्ने सूचनामा उल्लेख छ ।

शेयर लागत अभिलेख दर्ता गर्दा अनलाइन मार्फत कम्पनीले पेश गरेपछि कार्यालयबाट अभिलेख जनाई एकप्रति लगत कम्पनीले लाने र एकप्रति कार्यालयले विद्युतीय अभिलेख राख्ने छ ।

कम्पनी ऐन अनुसार शेयर दर्ता किताब सम्बन्धित कम्पनीले नै तयार गरी राख्नुपर्ने व्यवस्था भएकाले कम्पनीले कार्यालयमा अभिलेख दर्ता गरेको विवरणमा कनै फरक परेमा सम्बन्धित कम्पनी नै जवाफदेही हुने कार्यालयले बताएको छ ।

त्यस्तै कम्पनीले डेटा इन्ट्री गरेको शेयर लगत लगायतका विवरण र स्क्यान कपीमा कुनै फरक परी अद्यावधिक गर्नुपरेमा सञ्चालक समितिको निर्णय गरी कार्यालयमा सम्पर्क गर्न सकिने रजिष्टार कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।