कीवर्डहरू -

इन्स्टाग्राममा भएको बग पत्ता लगाएर नेपाली युवाले पाए ६ हजार डलर पुरस्कार

इन्स्टाग्राममा भएको बग पत्ता लगाएर नेपाली युवाले पाए ६ हजार डलर पुरस्कार

साइबर सुरक्षा सम्बन्धि अनुसन्धानकर्ता नेपाली युवा सौगात पोखरेलले इन्स्टाग्राममा भएको बग अर्थात सुरक्षा कमजोरी पत्ता लगाएर ६ हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।

सौगात पोखरेलले इन्स्टाग्राम प्रयोगकर्ताले केही समय अगाडी नै डिलिट गरेको फोटो तथा डाइरेक्ट म्यासेज कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएका थिए ।

यूरोपको नयाँ डेटा निती अनुसार सन् २०१८ मा इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नो डेटा डाउनलोड गर्न सक्ने फिचर सार्वजनिक गरेको थियो । यो सुविधाको प्रयोग गरी पोखरेलले आफ्नो डेटा डाउनलोड गरेका थिए । जसमा करिब १ वर्ष अगाडी नै डिलिट गरेका फोटो तथा प्राइभेट म्यासेज पनि डाउनलोड भएका थिए ।

इन्स्टाग्रामको नीति अनुसार प्रयोगकर्ताले डिलिट गरेका फोटो तथा डाइरेक्ट म्यासेज  ९० दिनभित्र पूर्णरुपमा हट्नुपर्ने हुन्छ । तर सौगात पोखरेलले करिब १ वर्ष अघि नै डिलिट गरेको डेटा इन्स्टाग्रामको सर्भरमै भन्डार भएको थियो ।

टेकक्रञ्चसँग कुराकानी गर्दै उनले भने, ‘ १ वर्ष अगाडी नै मैले डिलिट गरेको डेटा इन्स्टाग्रामले भने डिलिट गरेको रहेनछ । त्यसपछि मैले इन्स्टाग्रामको बग बाउन्टी कार्यक्रम मार्फत यस बगको जानकारी गराएको थिए । यो बग अघिल्लो महिनामात्रै समाधान भइसकेको छ ।’

‘अनुसन्धानकर्ताले कसैले पहिलेनै डिलिट गरेको फोटो तथा म्यासेज फेरी डाउनलोड हुने गरेको समस्याको जानकारी गराएका थिए । अहिले यो समस्या समाधान भइसकेको छ र यसको कुनै दूरूपयोग पनि भएको छैन् । हामी यो समस्या बारे जानकारी गराउने अनुसन्धानकर्तालाई धन्यवाद दिन्छौं,’ टेककञ्चसँग कुराकानी गर्दै इन्स्टाग्रामका प्रवक्ताले भने  ।