कीवर्डहरू -

घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण

घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण

नेपाल टेलिकमको गत आर्थिक वर्षको भन्दा २ अर्ब २९ करोड २८ लाखले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा कूल सेवा वापत ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ आम्दानी गरेको थियो ।

टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा कूल सेवा वापत ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ ।    आर्थिक वर्ष २०७५/७६ को भन्दा आर्थिक वर्ष २०७६/७७ मा आयमा ६.२ प्रतिशतले कमि आएको हो ।

कम्पनीका सेवाहरु मध्ये लिज लाइन, एफटिटिएच र जीएसएम डेटा वाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको, तुलनात्मक रुपमा लिज लाइन र एफटिटिएच सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न नसकेको कारण कमी आएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार रिचार्ज कार्डको विक्रीमा मिति गत चैत १ गतेदेखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको छ । कूल विक्रीलाई हिसाब गरिसके पछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड विक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको हो ।

अघिल्लो आवको तुलनामा चालु आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिक सम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजश्वमा ३.९ प्रतिशतले कमी हुन गएको टेलिकमले बताएको छ ।

फोरजी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येबाट राजश्व वृद्धि उन्मुख रहेकोमा मुलुक भित्र लगायत विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको वढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जीएमएम तथा पीएसटिएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोड रुपैयाँको कमी भएको तथा डेटा सेवा तर्फ करिब ७५ करोड रुपैयाँ वृद्धि भएको टेलिकमले जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
यी कारणहरुले गर्दा गत आवको चौथो त्रैमासिक अवधिको तुलनामा यस आवको चौथो त्रैमासिक अवधिमा राजश्वमा  करिब १५ प्रतिशत (एक अर्ब ९५ करोड रुपैयाँ) ले गिरावट आएको उल्लेख गरिएको छ ।

सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टपअपमा शतप्रतिशत बोनस वापत ५३ करोड ४० लाख रुपैयाँ भन्दा बढि, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिदा २२ करोड ८३ लाख भन्दा बढि तथा  जरो भ्यालु कल वापत ५  करोड ३० लाख रुपैयाँ भन्दा बढिको निःशुल्क सेवा दिएको हुनाले राजश्वमा प्रत्यक्ष असर गरेको जारी विज्ञप्तीमा भनिएको छ  ।

साथै टेलिकमले महामारीसंग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरु उपलव्ध गराएको थियो । भने नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० करोड रुपैयाँ योगदान गरेको थियो ।

वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, विजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलव वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋण आदिको कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ ।