कीवर्डहरू -

अब सार्वजनिक सवारीमा जीपीएस प्रणाली, चालू आर्थिक वर्षभित्रै जडान गरिने

अब सार्वजनिक सवारीमा जीपीएस प्रणाली, चालू आर्थिक वर्षभित्रै जडान गरिने

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए ।

उनका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।

जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो । जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दाबी उनको छ ।

तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उनले जानकारी दिए । त्यसरी चालकको निगरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।

त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने जनाइएको छ । यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।