कीवर्डहरू -

सरकारले सञ्चालनमा ल्यायो कोभिड डेटा पोर्टल, यस्ता छन् सुविधा

सरकारले सञ्चालनमा ल्यायो कोभिड डेटा पोर्टल, यस्ता छन् सुविधा

कोभिड १९ अर्थात कोरोना भाइरस लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेटा पोर्टल सञ्चालनमा ल्याएको छ । कोभिड १९ संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान मन्त्रालयले यो पोर्टल संचालनमा ल्याएको हो ।

पहिलो चरणको बन्दाबन्दिसँगै सुरु भएको कोभिड १९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । कोभिड १९ सम्बन्धि सूचना तथा गतिविधिको जानकारी दिन मन्त्रालयले भाइबर ग्रुप, फेसबुक, ट्विटर, कोभिड १९ प्रेस ब्रिफिङ, हाम्रो स्वास्थ्य एप, कोभिड १९ पोर्टल लगायतका डिजिटल माध्यमको प्रयोग गर्दै आएको छ ।

नयाँ डेटा पोर्टलमा पुरानो पोर्टल‍मा रहेका कोभिड १९ बारे जानकारी, स्व मुल्यांकन, आइइसी सामग्री, धेरै सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथावत रहेका छन् । यस बाहेक डेटा पोर्टलले प्रयोगकर्ता अनुकुल संक्रमणको विभिन्न तथ्यांकलाई नक्शामा हेर्न सक्नेछन् ।

संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला पुरुषको विवरण, उमेर समूह अनुरुपको बिस्तृत विवरण, लिङ्गका आधारमा संक्रमण हेर्न सकिने छ । प्रयोगकर्ताले हालसम्मका संक्रमण विवरण नक्शामा छनोट गरि हेर्न सक्ने छन् ।

नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टामा भएका संक्रमणको अवस्था हेर्न सक्ने छन्  साथै एक प्रदेशको संक्रमण अर्को प्रदेश संग तुलना गर्न पनि सक्ने छन्।  प्रयोगकर्ताले आफुले चाहे बमोजिम पछिल्ला हप्ता, महिना वा आफ्नो रोजाई अनुरुप मिति छनोट गरि संक्रमणको अवस्था हेर्न सक्ने छन् ।

नयाँ डेटा पोर्टलमा संक्रमणको अवस्था पुरा नेपाल, प्रदेश, जिल्लाको आधारमा नक्शामा र संगै रहेको टेबुलमा हेर्न सकिने छ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाईएको छ, यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्था पनि बार चार्टमा देखाइएको छ ।

लिङ्गको आधारमा संक्रमणको अवस्था पाइ चार्टमा देख्न सकिन्छ। प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा छ । देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ । उमेर समूह अनुसारको संक्रमणको अवस्था कुनै निश्चित दिनको संक्रमणको अवस्था पनि यसमा उपलब्ध रहेको छ  । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्युको तुलना भएको पाईचार्ट उपलब्ध छ ।

योसँगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक र ट्वीटर र अत्यावश्यक सेवा वा जानकारी लिन हटलाइन नम्बर पनि राखिएको छ ।