कीवर्डहरू -

ईकमर्श तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न विवेकशीले नेपाली दलको आग्रह

ईकमर्श तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न विवेकशीले नेपाली दलको आग्रह

विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ईकमर्शलाई निरुत्साहित नगर्न आग्रह गरेको छ । विवेकशील नेपाली दलले शनिबार एक विज्ञप्ती जारी गर्दै ईकमर्श तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न आग्रह गरेको हो ।

भदौ ११ गते काठमाडौँका विभिन्न स्थानहरूबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति ध्यानाकर्षण भएको पनि विवेकशील नेपाली दलले जनाएको छ ।

विवेकशीले नेपाली दलले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन।’

विज्ञप्तीमा अगाडी लेखिएको छ, ‘सङ्क्रमण कम गर्न, क्वारेन्टिनमा बसेका तथा आवश्यक सेवा प्रदान गरिरहेका तथा कामदारको अभाव लगायत विविध कारणले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका अन्य सेवा प्रदान गर्नेहरूलाई यस्ता सेवा प्रदायकहरू कति सहयोगी बन्न सक्छन्, त्यो आयामबाट छलफल गर्दै एउटा प्रभावकारी माध्यमको पहिचान गरी सुरुवात गर्नु अबको मार्ग हुन सक्दछ ।’

विवेकशील नेपाली दलले ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको विवेकशील नेपाली दलले बताएको छ ।