कीवर्डहरू -

हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना

हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना

नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको जानकारी दिएको छ ।

प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै हालसम्म ८९८ विद्यालयमा तोकिएको उपकरण पुगेको र ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको जानकारी दिएको हो ।

दूरसञ्चार प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म ८९८ वटा विद्यालयमा तोकिएका उपकरण पुर्याईसकिएको तथा ७२५ विद्यालयहरु (सुची लिङ्कमा उपलब्ध) मा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी सप्लाएरबाट प्राधिकरणमा प्राप्त भएको अवस्था छ ।’

‘आपूर्तिकर्ता संस्थाबाट सम्झौता बमोजिम कार्य भए नभएको सम्बन्धमा जाँचबुझ गरी यकिन गर्न प्राधिकरणबाट नियुक्त गरिएका परामर्शदाताबाट सम्झौता बमोजिमका कूल विद्यालयको ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरी प्राधिकरणमा प्राप्त प्रतिवेदन अनुसार उल्लेखित ५० प्रतिशत विद्यालयमा निज आपूर्तिकर्ता संस्थाको कार्य सन्तोषजनक नै पाइएको छ’ सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सभा सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाईएको प्रतिवन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिम तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम समेत रोक्का गरी कूल सम्झौताको करिब ३० प्रतिशत रकम आपूर्तिकर्ता संस्थालाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

कोभिड १९ को विषम परिस्थितिमा कतिपय विद्यालयहरु क्वारेन्टिनका रुपमा समेत प्रयोगमा आएका तथा बन्दाबन्दीका कारणले विद्यालय बन्द रहेको अवस्थामा विद्यालय सुचारु भएको ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि थप गरिएको समेत प्राधिकरणले जनाएको छ ।

सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्बन्धित विद्यालयसँग भएको समझदारी अनुसार केही समस्या, गुनासो वा प्रतिक्रिया भए टिपाउन प्राधिकरणले अनुरोध गरेको छ ।