कीवर्डहरू -

व्यवसाय बढाउन इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोग बढ्यो

व्यवसाय बढाउन इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोग बढ्यो

कोभिड १९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ ।

परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न डिजिटल प्रणालीको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र जापान सरकारको सहकार्यमा गत जेठ १२ देखि २८ गतेसम्म गरिएको उक्त अध्ययनमा पाँचमध्ये एकले व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, सामाजिक सञ्जाल, एप अथवा डिजिटल माध्यमको प्रयोग गरेको पाइएको हो ।

अध्ययनको अर्को पाटोले भने नेपालका साना तथा मझौला उद्योग कोभिडपछि निकै सङ्कटमा परेको देखाएको छ । अध्ययनमा समेटिएका यस्ता उद्योगमध्ये आधाभन्दा बढीले कोभिड प्रभाव सुरु भएको एक महिनाभित्र नै आफ्नो सञ्चालन बन्द गरेको पाइयो ।

सबै प्रदेशलाई समेटेर सर्वेक्षणमा छनोट गरिएका त्यस्ता उद्योगका ५४० प्रतिनिधिले ८० प्रतिशतले व्यवसाय घटेको र त्यसका लागि आफ्ना कर्मचारीलाई बेतलबी बिदा अथवा काम गर्ने समय र तलब घटाएको उल्लेख गरेको अध्ययनले जनाएको छ ।

अध्ययनबाट प्राप्त निष्कर्षले कोभिड १९ पछि नेपालका साना तथा मझौला उद्योगले बेहोरेको बाध्यता देखाउँछ, आईएफसीको परामर्श सेवाका लागि दक्षिण एसियाली प्रबन्धक रोल्फ बेन्र्टले बताए ।

यस्ता उद्योगले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि व्यवसायमा आएको स्पष्ट गिरावटले सञ्चालक न्यून आम्दानीसँग जुध्न र भविष्यबारे अन्योल रहेको उनको भनाइ छ ।

सर्वेक्षणका अनुसार करिब ४५ प्रतिशत व्यवसायले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् भने २७ प्रतिशतले काम गर्ने समय घटाएका छन् । त्यस्तै सबै किसिमका व्यवसायमा गरेर १२ प्रतिशत महिला कामदारको तलब घटाइएको छ ।

यस्ता उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।