कीवर्डहरू -

भर्चुअल प्रविधिमार्फत् टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ 

भर्चुअल प्रविधिमार्फत् टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ 

नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपालमा टोयोटा कोरोला क्रस एसयुभिको बिक्री वितरण प्रारम्भ गरेको छ ।

वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको छ ।

टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापानीज कार हुन् । विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो ।

यो ४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ ।

यो सिभिटि ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयुभि गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भने यो हलुका सवारी साधन पनि बनेको छ ।

कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ ।

कोरोला क्रसमा सबैभन्दा लामो व्हीलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ ।

टोयोटा कोरोला क्रस एसयुभि भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायीक छ । यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मूनरुफ को सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्नेछ ।

यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभि नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ ।

यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वःचालित उच्च बीम लाईट, ब्याक मोनिटर, एबीएसका साथ ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, इमरजेन्सी स्टप सिगनल आदि पनि यस कारका विशेषताहरु हुन् ।

हाल नेपालमा कोरोला क्रस एसयुभि २ किसिमको उपलब्ध छ । जस अनुसार इन्ट्रि मोडलको बजार मुल्य १ करोड १२ लाख रुपैयाँ र हाइ मोडलको १ करोड ३३ लाख रुपैयाँ कायम गरिएको छ ।