एनआईसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने अनलाइन कर्जा आवेदन प्रणाली को व्यवस्था गरेको छ ।
कोभिड १९ महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com/ मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ ।
यस बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकहरूले मुक्ति पाउनुहुने बैंकले विश्वास लिएको छ ।
यसमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ ।
कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसपछि ग्राहकहरूलाई कर्जा लिनका लागि छनौट भएको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।
साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहक महानुभावहरूले बैंकको वेबसाइटमा गई लोन स्टाटस समेत आफै ट्रयाक गर्न सक्नेछन् ।
बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि लोन टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा राखिएको फिडब्याक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
साथै ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वहाँहरूको कर्जासम्बन्धी गुनासो एवं जिज्ञासा बुझ्ने उद्देश्य अनुरुप बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहकहरूले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।