कोरोना महामारीसँगै सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचनाहरु पनि फैलिरहेका छन् । यसैलाई मध्यनजर गर्दै गलत सूचना फैलनबाट रोक्न हालै ‘विकि फर कोभिड-१९’ अभियान सञ्चालन गरिएको छ ।
‘विकि फर कोभिड-१९’ संदीप राउत र तुलसी भगतको संयुक्त प्रयासमा थालनी गरिएको एक अनलाइन पहल हो । यस पहलमा कोरोना भाइरस सम्बन्धि भिडियोहरूलाई सामाजिक सञ्जालमा पोष्ट गरिएको छ । यस अभियानमा भिडियो सम्पादकको रुपमा रुपेश लेखकले सहयोग गरेका छन् ।
साथै विकिपिडियामा कोरोनाभाइरसको बारेमा लेख अद्यावधिक गर्न, महामारीमा गलत जानकारी फैलाउन रोक्न र जानकारी सबैको लागि पहुँचयोग्य बनाउन सामग्री अनुवाद गर्न विकि स्वयंसेवकहरूले अथक प्रयास गरिरहेका छन् ।
विकिपिडिया सम्बन्धि जागरूकता फैलाउन यस अगाडी पनि यस्ता खालका जानकारीमूलक कार्यक्रम गर्दै आएको विकिपिडियाका स्वयंसेवक सन्दीप राउतले बताए ।
संसारभरि स्वयंसेवकहरूको नेटवर्कको कडा परिश्रमका कारण यस महामारीको बारेमा ५२०० भन्दा बढी विकिपिडिया लेखहरू १७५ भाषाहरूमा सिर्जना गरिएका छन्।
विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो। नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको थियो ।