कीवर्डहरू -

प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि

प्रभावकारी भएन शिक्षाको वैकल्पिक विधि

कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ ।

शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका छन् ।

केही विद्यालयले लकडाउनकै अवधिमा पनि वैकल्पिक माध्यमबाट राम्ररी विद्यार्थीलाई पढाएका थिए । मन्त्रालयले लकडाउन हटेपछि वैकल्पिक विधिको पढाइलाई अनिवार्य बनाए पनि बहाना बनाएर जिम्मेवारीबाट पन्छिन खोज्ने थुप्रै विद्यालयमा पढाइ हुन सकेको छैन ।

विद्यार्थीको सिकाइ अवरुद्ध भएका विद्यालयबारे मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अध्ययन गरिरहेको छ ।

सरकारले शैक्षिक सत्र खेर जान नदिन चैतभित्रै पढाइ सकेर अन्तिम परीक्षा लिने निर्णय गरिसकेको छ । यो अवस्थाले पढ्न पाउने र नपाउने विद्यार्थीबीच खाडल खडा गरेको छ ।

यसबाट चैतभित्र पढाइ सकेर परीक्षा लिइसक्ने सरकारी योजना सफल नहुने देखिन्छ । असल अभ्यास गर्न उत्सुक विद्यालयले लकडाउनमा पनि बहाना नबनाई विद्यार्थीको सिकाइलाई निरन्तरता दिएका थिए । चाहना नै नगर्ने विद्यालयलाई अहिले पनि कोरोना महामारीले छोइरहेको छ ।

‘मैले अध्ययन गर्दा दोलखामा केही विद्यालयले टेलिफोनबाट विद्यार्थीलाई सम्पर्क राखेर पढाउन थालेका छन् । कपिलवस्तुका विद्यालयले विद्यार्थीलाई बारअनुसार समूह बनाएर पढाइरहेका छन् । उनीहरूले बिहान ८ बजेदेखि नै पढाउन थालेका छन्’, शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘लमजुङमा एक विद्यालयले पनि यसरी नै पढाइरहेको छ । तर, सँगै रहेको अर्को विद्यालयले विभिन्न बहाना बनाएर पढाइलाई निरन्तरता दिन सकेको छैन ।’ यस्तो असमान व्यवस्थाले विद्यार्थी र अभिभावकमा मानसिक तनाव सिर्जना गर्ने कोइरालाको भनाइ छ ।

मन्त्रालय तथा मातहतका निकायका कमजोरीका कारण यो अवस्था आएको हो । विद्यालय तहसम्मको शिक्षाको अधिकार पाएका स्थानीय तह पनि पढाइ र विद्यार्थीको भविष्यप्रति गम्भीर देखिएका छैनन् ।

काठमाडौंका चन्द्रागिरि, तारकेश्वरलगायत नगरपालिकाले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै समूहमा बोलाएर पढाउन थालेका छन् । उपत्यकाबाहिरका विद्यालयमा पनि यो पद्धति अपनाइएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रत्येक विद्यालयमा वाईफाई व्यवस्था गरिदिएको छ । विद्यार्थी भाग लगाएर शिक्षकको जिम्मा लगाइदिएका छन् । पढाइबाट भाग्ने विद्यालयहरू कहिले क्वारेन्टाइन त कहिले संक्रमण फैलिएको बहाना बनाएर बसिरहेका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेलले अनलाइन, रेडियो, टीभी तथा पाठ्यपुस्तक उपलब्ध गराएर पढाइरहेको जानकारी दिए ।

यतिले पनि नपुगेर शिक्षकलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड दिएर विद्यार्थीलाई नियमित निगरानी राख्न निर्देशन दिइएको प्रधानाध्यापक कँडेलले बताए ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पढाइ व्यवस्थित गर्ने सन्दर्भमा शिक्षा मन्त्रालय र मातहतका नेतृत्व असफल भएको आरोप लगाए। विद्यालय तहमा कक्षा १ देखि १० सम्म मात्रै ६० लाखभन्दा बढी विद्यार्थी छन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले वैकल्पिक माध्यमको पढाइ भनिए पनि कति प्रभावकारी छ भन्ने विषयमा अस्पष्ट रहेको बताए ।

‘सबै विद्यार्थी स्कुल आऊ, किताब लगेर पढभन्दा त आउँदैनथे । अहिले त वैकल्पिक माध्यम भनिएको छ । कतिको पहुँचमा रेडियो, टीभी नै छैन । कतिको हातमा मोबाइल भए पनि स्मार्ट मोबाइल छैन होला’, महानिर्देशक अर्यालले भने, ‘अहिलेकै अवस्थालाई विश्लेषण गरेर भन्नुपर्दा प्रभावकारी भयो भन्न सकिँदैन । तर सकारात्मक वा नकारात्मक वास्तविकता जे भए पनि स्पष्ट अध्ययन चाहिँ गर्छौं ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।