कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य 

नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य 

नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको छ ।

भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सहकार्य भएको हो ।  सम्झौता बमोजिम एनपीएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ ।

यो सम्झौता पछि एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल टाइम तथा नन रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ ।

त्यसै गरी आउने दिनहरुमा एनसीएचएलले एनपीएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।

एनपीएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् ।

यसरी दुइ पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरआबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।

एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

बैंक वित्तिय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पिएसपी पिएसओहरुलाई इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस आइटी र फिन्टेक क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो ।

यसले विभिन्न भुक्तानीका  सेवाहरु एकिकृतलगायत एपीआईमा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ । साथै यसले अन्तरबद्धता मार्फत बैंक वित्तिय तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु प्रदान गर्दै जानेछ ।