कीवर्डहरू -

डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम

डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।

यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् ।

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् ।

यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्छ ।

कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।