कीवर्डहरू -

दशैंमा बैंकहरुको ‘डिजिटल दक्षिणा’ योजना, कुन बैंकले कति दिदैं छन् क्यासब्याक ?

दशैंमा बैंकहरुको ‘डिजिटल दक्षिणा’ योजना, कुन बैंकले कति दिदैं छन् क्यासब्याक ?

कोभिड १९ अर्थात कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा सञ्चालित विभिन्न बैंकहरुले डिजिटल दक्षिणाको योजना ल्याएका छन् ।

बैंक तथा विभिन्न वित्तिय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिदैं आएका छन् ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दसैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी ५०० रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक दिने भएको हो ।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोबाइल मनि मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

क्यासब्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ । उक्त क्यासब्याक पूर्णिमा पछि ग्राहकहरुको खातामा सिधै जम्मा हुनेछ । क्यासब्याक प्राप्त गर्न न्यूनतम २०० रुपैयाँ वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।

मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक  अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ ।

दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’ को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

एनआइसी एशिया बैंक

एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबार गर्न आग्रह गर्दै डिजिटल दक्षिणा योजना ल्याएको छ ।

भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता मानेर बैंकले डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गर्दा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ५०० रुपैयाँ सम्म दक्षिणा प्राप्त गर्न सकिनेछ ।

उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबैंकको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउण्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा दक्षिणा विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

साथै बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कार्तिक देखि मंसीर ५ गते सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

बैंक अफ काठमान्डु

नेपालीहरुको आउदै गरेको महान चाड बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन पनि बैंकले अनुरोध गरेको छ ।

बडा दशैंमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको हो ।

साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा सो भन्दा बढि भएमा ३०० रुपैयाँ नगद उपहार लागि ग्राहक योग्य हुनेछन् ।

एनएमबी बैंक

एनएमबी बैंकले ‘एनएमबी दशैं बोनान्जा’ अफर सुरु गरेको छ । कार्तिक १ गतेदेखि शुरू भएको दशैं बोनान्जा अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले दशैं धमाका योजना अन्तर्गत मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने भएको छ ।

बैंकको मोबाइल एप आरबीबी स्मार्टबाट विभिन्न कारोबार गर्दा रकम तिर्न सकिन्छ । एपबाट युटिलिटी पेमेन्ट, रिचार्ज टपअप, क्रेडिट कार्ड पेमेन्ट, रकम ट्रान्सफर अनलाइन बुकिङ र पेमेन्ट आदि गर्न सकिने बैंकले जानकारी दिएको छ।

बैंकले आरबीबी स्मार्टबाट कारोबार गर्दा हरेक कारोबारमा २० प्रतिशत (अधिकतम एक सय रूपैयाँ) क्यास ब्याक दिने भएको हो । यो योजना कात्तिक ५ देखि मंसिर ५ सम्म लागू हुने बैंकले जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी एफवानसफ्टसँग सहकार्य गरी नयाँ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक/एक थान स्मार्टफोन प्रदान गर्ने बैंकले जनाएको छ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यासब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ। बैंकले कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि चाडवाडलाई लक्षित गरी एफ्वान सफ्टसँगको सहकार्यमा क्यास ब्याक योजना ल्याएको छ ।
सिद्धार्थ बैंक स्मार्ट मोबाइल एप प्रयोलो पटक प्रयोग गर्दा ५० रुपैयाँको टपअप सुविधा रहेको छ । यो योजना कार्तिक ६ देखि मंसिर ५ सम्म लागु रहने छ ।

त्यस्तै कार्तिक १० देखि १४ गतेसम्म कारोबारको विवरणमा दक्षिणा लेखि तीनपटक न्युनतम १०० रुपैयाँ ट्रान्सफर गर्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने छ ।

त्य्स्तै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा माई फस्ट लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने छ । त्यस्तै थप तीन कारोबार गर्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने छ । यो क्याब्याक पाउन भने ५०० वा सो भन्दा माथिको कारोबार गर्नुपर्नेछ ।

यसै गरी कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)

दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले ‘मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै’ भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले वेबसाइट वा यसको मोबाईल एप्समा रहेको ‘ट्रान्सफर डिजिटल दक्षिणा’ मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् ।